०९ साउन २०८२
काठमाडौं– विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरी डेढ वर्षअघि बाहिरिएकी एमालेकी तत्कालीन उपाध्यक्ष हुन् ।
उनी त्यही हैसियतमा शुक्रबार पत्रकारसामु प्रस्तुत भइन् । उनले जारी गरेको विज्ञप्तिमा नामको मुनि पूर्वउपाध्यक्ष ९नेकपा एमाले० मात्रै लेखिन् । पूर्व राष्ट्रपतिको हैसियत देखाइनन् ।
राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि नेकपा एमालेको सदस्यता नवीकरण गरिन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर एक सन्देश पनि प्रवाह गरिन्– ‘‘अब म पुरानै पार्टी नेकपा एमालेमा सक्रिय भएँ ।’’
यतिखेर उनको राजनीतिक सक्रिय आकांक्षालाई लिएर मुलुकमा तीव्र बहस भइरहेको छ । उनको सक्रिय राजनीति फिर्तीलाई कतिले विरोध–आलोचना गरेका छन् भने एमालेमा ओलीइतर समूहले स्वागत गरेका छन् । जो ओलीसँग असन्तुष्ट छन् ।
सेवा सुविधासँगै उनले पूर्वराष्ट्रपतिको हैसियत छाडेको स्पष्ट सन्देश दिँदै अब सक्रिय राजनीतिमा होमिएको घोषणा गरिन् । मदन भण्डारीको तस्बिरसहितको ब्यानरमा राखिएको पत्रकार सम्मेलनमा उपस्थित भइन् । तर एक्लै !
उनलाई साथ दिनेहरू न त केन्द्रीय कमिटीको बैठकमा बोल्न सके न त उनले गरेको पत्रकार सम्मेलनमा नै उपस्थित भए । कार्यकर्ताले भने उनलाई साथ दिएको देखियो । पत्रकार सम्मेलनमा पनि उनले मदन भण्डारीबाहेक कसैको तस्बिर राखिनन् । नेकपा एमालेले केन्द्रीय कमिटीलगायतका बैठकको ब्यानरमा सूर्य राख्दै आएको छ । सूर्य नेकपा एमालेको चुनाव चिह्न पनि हो ।
पछिल्लोपटक एमाले नेतृत्वको व्यवहार जबजको विकल्प खोज्नेमा केन्द्रित भएको आशंका गर्दै आएकी भण्डारीले शुक्रबारको पत्रकार सम्मेलनमा पटक–पटक जबज सम्झाइन् ।
जबज सम्झाइनन् मात्रै उनले त्यसका व्यवहार कस्ता हुन्छन् भन्ने उदाहरण पनि पेस गरिन्, जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन ।”
उनले जबजकै कारण एमालेले सफलता हासिल गरेको दाबी गरिन् । “जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) प्रतिको नेकपा (एमाले) का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आवद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो ।”
उनले नेपाली माटोको सुवासमा जबजको विकास भएको पनि उल्लेख गरिन् ।
“नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ । हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रुपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउनुनर्पे दायित्व हाम्रै हो । यसका निम्ति हामी सबैको निष्ठापूर्वक र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो । यसो हुन सक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ ।”
पटक–पटक जबज उल्लेख गरेकी भण्डारीले पार्टीले सदस्यता नवीकरणसम्बन्धी गरेको निर्णय पूर्णतः बेवास्ता गरिन् । उनले भनिन्– ‘‘म पनि एमालेकै परिवारमा आवद्ध छु । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्दैन ।”उनको यो स्पष्ट चेतावनी केपी ओलीलक्षित थियो । तर उनले ओलीको नाम चाहिँ लिइनन् ।
साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटीले गरेको निर्णयलाई उनले ‘हुलहुज्जतले गरेको निर्णय’ भनिदिइन् । केपी शर्मा ओलीप्रति संकेत गर्दै उनले मुठीभरका व्यक्तिले हुलहुज्जतका भरमा निर्णय गरेको आरोप लगाइन् ।
“म पार्टी सदस्य भएको ४५ वर्ष भयो । मैले पार्टी सदस्यता नवीकरण गरेको छु । यसलाई मुठीभरका व्यक्तिले हुलहुज्जतको भरमा आवेग र उत्तेजनामा आएर खारेज गर्न मिल्दैन,” उनको टिप्पणी थियो, “पार्टीको पनि आफ्नो प्रणाली हुन्छ । कसैलाई कतिबेला के मन लाग्यो त्यही गर्नु राम्रो विषय होइन ।’’
‘‘म एमालेको जीवनमा पुनः आएँ,” उनले भनिन् । एमालेको निर्णयबाट आफू विचलित नभएको उल्लेख गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ मदन भण्डारीको सपना भएको संकेत गरिन् ।
केपी शर्मा ओलीले पटक–पटक र निर्वाचनका बेला एजेन्डा बनाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ कसरी बनाउन सकिन्छ भनेर मदन भण्डारीले नै जनताको बहुदलीय जनताको आधारमा कार्यक्रम ल्याएको भण्डारीको तर्क थियो ।
“जननेता मदन भण्डारीले समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवादको आधारमा कार्यक्रम ल्याउनुभएको छ । त्यसको आदर्श, मर्म र भावनाअनुसार कार्यान्वयन गर्ने हो,” भण्डारीले पत्रकार सम्मेलनमा भनिन् ।
उनले आफ्नो ध्येय मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अघि बढाउने रहेको पनि बताइन् ।
तर भण्डारीले आगामी कदमबारेमा स्पष्ट पार्न नसके पनि एमालेमै रहेर संघर्ष गर्ने सन्देश भने प्रवाह गरिन् । आगामी योजनाबारे पत्रकारले पटक–पटक सोधेको प्रश्नमा उनले कुनै जवाफ दिइनन् । एमालेले उनको सदस्यता नै खारेज गरेको सन्देश दिँदै वेबसाइटबाट हटाइदिएपछि उनी एमाले नेतृकै हैसियतमा रहन्छिन् कि रहँदिनन् भन्ने प्रश्न भने उठेको छ ।
त्यसलाई भण्डारीले गुमराहमै राख्दै सदस्यता नवीकरण नभए पनि खेल्ने मैदान फेरि पनि एमाले नै भएको स्पष्ट संकेत गरिन् ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया